काठमाडौं - नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। 

सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्।

एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान सन्दीपले सामाजिक सञ्जालमा आफूहरू देशबाट टाढा भए पनि मन भने नेपालमै रहेको उल्लेख गर्दै सहयोगको घोषणा गरेका हुन्। 

यसैगरी प्रिमियर कपमा नेपालले लिने हरेक विकेटका लागि एक हजार पाँच सय र हरेक चौका तथा छक्कामा पनि एक हजार पाँच सय रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। 

बाढीले बालबालिकाको शैक्षिक सामग्री बगाए पनि उनीहरूको सपना बगाउन नसक्ने बताउँदै सन्दीपले हरेक विकेट र हरेक बाउन्ड्रीमा सहयोग गर्ने घोषणा गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि बाढी प्रभावितको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।