काठमाडौं - बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका १३ वटा टनेल पुरिएका थिए। टनेलमा फसेका ८ सय ९८ जनामध्ये सबैको उद्धार भइसकेको छैन। सरकारी र निजी गरी ४ वटा टनेलमा फसेका व्यक्तिको उद्धार गर्ने कोसिस भइरहेको सरकारले जनाएको छ। ९ वटा टनेलमा फसेका व्यक्तिहरूको उद्धारका लागि भने सरकारका तर्फबाट ठोस कदम चालिएको छैन। आयोजनामा काम गर्ने कर्मचारीका परिवार र आफन्त उद्धारका लागि सरकारका विभिन्न निकायसँग याचना गरिरहेका छन्। तर, सरकारले ठोस जवाफ दिन सकेको छैन।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका आफन्तहरूको खोजीमा पीडित परिवारका सदस्यहरू तस्बिर बोकेर अस्पताल, प्रहरी कार्यालय र नदी किनारहरूमा भौंतारिरहेका छन्। कतिपय व्यक्तिहरू अस्पतालको शवगृह अगाडि पनि कुरिरहेका छन्। बाढी गएको ५ दिन भइसक्दासमेत कुनै जानकारी नपाउँदा जीवितै फेला पार्ने आशा क्षीण बने पनि आफन्तको अवस्थाबारे जानकारी लिन आफन्त र परिवारजन सरकारी निकायैपिच्छे धाइरहेका छन्।अस्पतालको भित्ताभरि सम्पर्कविहीनहरूका तस्बिर टाँसिएका छन्।
सरकारले टनेलमा फसेकाहरूको उद्धारमा ढिलाइ गरेको भन्दै उनीहरूका आफन्तले आक्रोश व्यक्त गरेका छन्। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तको अवस्था ५ दिन बितिसक्दा पनि यकिन हुन नसकेपछि परिवारका सदस्यहरू आक्रोशित बनेका छन्। फसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका थिए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीका अनुसार, रसुवा बाढीबाट विभिन्न जलविद्युत् आयोजनाका १३ वटा टनेल क्षतिग्रस्त भएका छन्। जसमध्ये, त्रिशूली थ्री–ए, र थ्री–बीमा नेपाली सेनासहितको टोलीले उद्धारको कोसिस गरिरहेको छ। निजी क्षेत्रबाट लाङटाङ खोला र अन्य एकमा उद्धारको काम सुरु भएको छ।
२ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ मा काम गर्ने ५ सय ७६ जना कामदारहरू सम्पर्कविहीन भएका छन्। जसमा २ सय ५४ जनाको शनिबार उद्धार गरिएको थियो। यस्तै, रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, त्रिशूली ३ बीमा १ सय २२ जना तथा अन्य आयोजनाहरूमा काम गर्ने विभिन्न व्यक्ति सम्र्पकविहीन भएका हुन्। सरकारी तथा निजी क्षेत्रबाट आइतबारमात्रै टनेलमा फसेकाको उद्धारको पहल गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल त्रिशूली थ्री–एमा फसेकाहरूको उद्धारका लागि राति पनि काम भइरहेको छ। बेलुका फ्ल्ड लाइट जडान गरेर काम भइरहेको छ। त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले आइतबार सुरुङ फेला पारेको बताइएको छ। तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको बताइएको छ।
बाढीपीडितको उद्धार र सुरुङमा फसेकाहरूको उद्धारका लागि सरकारले केही दिनसम्म विदेशी सहयोग लिन इन्कार गरेको थियो। व्यापक आलोचनापश्चात् शनिबारबाट चिनियाँ र भारतीय विशेषज्ञ टोलीसमेत परिचालन भएका छन्। सुरुङबाट उद्धारका लागि भारतबाट ११ सदस्यीय विशेषज्ञ प्राविधिक टोली परिचालन भएका छन्। त्रिशूली थ्री–ए र बीमा केही चिनियाँ प्राविधिक पनि खटिएका छन्।


0 comment