काठमाडौं - प्रहरीले विराटनगर महानगरपालिका–६ र ११ को सिमानास्थित केशलिया नहरबाट १८ किलो गाँजा बरामद गरेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीलाई देख्नासाथ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १३ प ४६६८ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए। मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। 

उनका अनुसार मोटरसाइकलमै रहेको झोलाभित्र २१ पोका गाँजा भेटिएको थियो। सबै गरेर लगभग १८ किलो गाँजा रहेको कोइरालाले बताए। 

प्रहरीले गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।