काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि काठमाडौंबाट बाहिरिने र भित्रने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौंबाट बाहिरिने ठूला सवारीसाधनलाई नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जाने र साना सवारीसाधका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको बताएका छन् ।

त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभिरमा करिब २० मिटर सडक भासिएको छ । सडक भासिएपछि सवारी सञ्चालनमा अवरोध भएको छ । बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

यसैबीच, कृष्णभिरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौंबाट विज्ञ टोली त्यहाँ पुगेको छ । सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।