काठमाडौं - भोटेकोसी बाढीले बगाएर ल्याएका क्षतविक्षत शव राख्ने ठाउँको अभाव भएपछि प्रशासनले शवलाई जमिनमुनि व्यवस्थापन गर्न थालेको छ। लामो समयसम्म शव सुरक्षित राख्न नसक्दा दुर्गन्ध फैलिनुका साथै स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले हिजोदेखि चितवनमा शव व्यवस्थापनको काम सुरु गरिएको हो।

बाढीपछि प्राप्त भएका शवलाई सुरक्षित रूपमा राख्ने पर्याप्त स्थान तथा आवश्यक पूर्वाधारको अभाव भएपछि प्रशासनले तत्कालका लागि जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको जनाएको छ। यसरी व्यवस्थापन गरिएका प्रत्येक शवको डीएनए नमुना संकलन गर्नुका साथै पहिचान गर्न सकिने गरी नम्बरसमेत राखिएको छ।

यसबाट बाढीमा परी बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारले पछि डीएनए परीक्षणमार्फत शवको पहिचान गर्न सक्ने व्यवस्था गरिएको प्रशासनको भनाइ छ। डीएनए परीक्षणबाट सम्बन्धित परिवारसँग मिलान भएमा आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई हस्तान्तरण गर्न सकिनेछ।

आफन्तजनहरु बेपत्ताहरुको खोजी गरिरहँदा सरकारले शव व्यवस्थापन गर्न हतार गरेको भन्दै प्रश्न उठ्न थालेपछि नेपाल प्रहरीले अहिले भइरहेको प्रक्रिया अन्त्येष्टि नभई शवको सुरक्षित व्यवस्थापन मात्र भएको स्पष्ट पारेको छ।

प्रहरीले शवलाई लामो समयसम्म खुला वा असुरक्षित अवस्थामा राख्दा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले तत्काल व्यवस्थापन गरिएको जनाएको छ। शवको डीएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा पहिचान गर्न कुनै बाधा नपर्ने प्रहरीको भनाइ छ।

बाढीमा परी हराइरहेका आफन्तजनको खोजी तथा पहिचानको काम जारी रहेकाले शव व्यवस्थापनलाई अन्तिम संस्कारका रूपमा नबुझ्न प्रहरीले आग्रह गरेको छ। कसैलाई व्यवस्थापन गरिएका शवमध्ये आफ्नो आफन्त हुन सक्ने शंका लागेमा डीएनए परीक्षणमार्फत पहिचान गर्न सकिने र मिलान भएमा शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे आधिकारिक सूचना नलिई फैलिएका हल्लाका आधारमा धारणा नबनाउनसमेत आग्रह गरेको छ।