काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–ए आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञसहितको टोलीले तीन दिनदेखि निरन्तर खोजी गरेपछि विद्युत्गृहबाट तार बाहिर निकाल्ने सुरुङ फेला पारेको प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।  सुरुङविज्ञ तथा सांसद् श्रीराम न्यौपानेले पनि केबल एक्सेस टनेल भेटिएको पुष्टि गरेका छन्।

अब टनेलको पोर्ट सफा गरी अक्सिजनसहित उद्धारकर्मीलाई भित्र पठाउने तयारी भइरहेको छ। उद्धारकर्मीसँग क्यामेरा पठाएर सुरुङभित्रको अवस्थासमेत प्रत्यक्ष निरीक्षण गर्ने तयारी छ।

पोर्टबाट करिब १८० मिटर अगाडि गएपछि कर्मचारीहरू काम गरिरहेको सम्भावित स्थानमा पुग्न सकिने अनुमान गरिएको छ। त्यहाँ पुगेपछि सुरुङभित्र फसेकाहरूको वास्तविक अवस्था र स्थानबारे जानकारी हुने उद्धार टोलीले जनाएको छ।

यसअघि उद्धार टोलीले सुरुङभित्र हावा पठाउन पाँचवटा ड्रिलमार्फत प्वाल बनाएको थियो।बाढी आएको दुई दिनपछि शुक्रबारदेखि उद्धार प्रयास थालिएको थियो। आयोजनाको भूमिगत विद्युत्गृहको ओभरहलिङमा काम गरिरहेका करिब ४०–४२ जना प्राविधिक तथा उच्च विज्ञहरू सुरुङभित्र फसेको प्राधिकरणको अनुमान छ।