काठमाडौं - काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।  रसुवा बाढी प्रभावितलाई लक्षित गर्दै विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

हेल्प डेस्कले विपद्को समयमा सहयोग गर्न चाहने व्यक्ति, संघ–संस्था, पेशाकर्मी, उद्योगी/व्यवसायी र सरकारी निकायबीच पुलको रूपमा काम गर्ने महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिए । सहयोगका लागि महानगरमा प्राप्त हुने सम्पूर्ण नगद रकम नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री राष्ट्रिय विपद् कोष’मा जम्मा गरिने, लत्ताकपडा, खाद्यान्न लगायतका राहत सामग्रीहरूको लगत राखेर आधिकारिक स्थलहरूमा पु¥याइने उनले बताउनुभयो ।

त्यस्तै अस्पतालहरूमा उपचारमा ढिलाइ भएका तथा मानवीय सेवा नपुगेका स्थानहरूमा स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरी राहत र उद्धारमा सहयोग गर्ने डंगोलले बताइन् । 
उनले बाढी–पहिरोबाट प्रभावित र पीडितहरूको विवरण वडा–वडाबाट सङ्कलन गरिने र आगामी दिनमा समस्या समाधान र योजना निर्माणका लागि तथ्याङ्कमा आधारित तथा प्रमाणमा आधारित  पद्धति अपनाइने उल्लेख गरिन् ।

हाल नुवाकोट लगायतका स्थानहरूबाट काठमाडौँ महानगरवासी तथा अन्य नागरिकलाई यातायातको माध्यमबाट ल्याउने कार्य भइरहेको र आवश्यकता अनुसार सेवा क्षेत्र विस्तार गरिने समेत उनले बताए ।