काठमाडौं - रसुवामा आएको बाढीबाट प्रभावित १८३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकोप्टरमार्फत् आइतबार बिहान ११ बजेसम्म टिमुरे, धुन्चे र हाकुवेसी क्षेत्रबाट चिनियाँ नागरिक चार जनासहित १८३ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा फसेका टोलीको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा खटिएको संयुक्त टोलीमा विशेषज्ञ जनशक्ति थप गरिएको छ। ९३ जनाको टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी उद्धार तथा खोजी कार्य अघि बढाइरहेको छ।

बाढीको बहाव केही कम भएसँगै टनेलको प्रवेशद्वार पत्ता लगाउने कार्यसमेत पुनः सुरु गरिएको सेनाले जनाएको छ। बाढी प्रभावित जिल्लामा नेपाली सेनाका करिब ८ हजार ४ सयभन्दा बढी फौज परिचालन गरिएको छ।

उनीहरूले उद्धार, खोजी तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेका छन्।