काठमाडौं - भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले स्वतःस्फूर्त रूपमा राहत सामग्री संकलन थालेका छन्।

यतिबेला माइतीघर मण्डलामा संकलित राहत सामग्रीको थुप्रो लागेको छ। उक्त सामग्रीलाई आवश्यकताअनुसार वर्गीकरण र प्याकिङ गरी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ। तत्काल उद्धार तथा राहत आवश्यक रहेका परिवारसम्म सामग्री पुर्‍याउन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गर्ने तयारीसमेत गरिएको छ।

नागरिकहरूले बाढी प्रभावितका लागि खाद्यान्न, खानेपानी, लत्ताकपडा, औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन्। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएपछि तत्काल आवश्यक पर्ने सामग्रीको अभाव हुनसक्ने भन्दै नागरिकस्तरबाट सहयोग जुटाउन थालिएको हो।

राहत संकलनमा विशेषगरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा विस्थापित परिवारलाई लक्षित गरी कपडा, जुत्ताचप्पल, कम्बल, सरसफाइका सामग्री र बालबालिकाका लागि आवश्यक सामग्रीसमेत संकलन गरिएको छ।

राहत संकलनमा सहभागी नागरिकहरूले विपद्का बेला सरकारी प्रयाससँगै समुदाय र सर्वसाधारणको सहयोग पनि महत्वपूर्ण हुने बताएका छन्। उनीहरूले घरमा प्रयोगमा नआएका तर बाढीपीडितका लागि उपयोगी सामग्री उपलब्ध गराउन तथा सक्नेले खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेका छन्।