काठमाडौं - सरकारले बाढीबाट क्षतिग्रस्त पुलको तत्काल पुनःस्थापनाका लागि भारत र चीनसँग ४२ वटा बेलिब्रिज सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार दुवै छिमेकी मुलुकलाई बेलिब्रिज उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार बुधबार आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ४१ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीले दर्जनौँ पक्की तथा झोलुङ्गे पुलसमेत बगाएपछि तीन जिल्लाका विभिन्न क्षेत्रसँगको सडक तथा यातायात सम्पर्क प्रभावित भएको छ।

पुलहरू क्षतिग्रस्त भएपछि विशेषगरी धादिङ र रसुवाका कतिपय क्षेत्रमा आवतजावत कठिन बनेको छ। त्रिशूली र भोटेकोसी नदीमा रहेका अधिकांश पुल बाढीले बगाएको मन्त्रालयले जनाएको छ।

नेपालसँग हाल ७ वटा बेलिब्रिज मात्र मौज्दात रहेकाले तत्काल आवश्यक स्थानमा पुल सञ्चालन गर्न छिमेकी मुलुकसँग थप बेलिब्रिज सहयोग मागिएको हो। सरकारले बाढीबाट विच्छेद भएका सडक तथा यातायात सम्पर्कलाई यथाशीघ्र पुनःस्थापित गर्न बेलिब्रिज जडानलाई प्राथमिकतामा राखेको जनाएको छ।