काठमाडौं - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार विभिन्न १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम जम्मा भएको हो।
नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्ति तथा विभिन्न संघसंस्थाले सहयोग रकम जम्मा गर्न थालेका हुन्। व्यक्तिगत रूपमा नगद सहयोग गर्न चाहने दाताले अर्थ मन्त्रालयमै उपस्थित भएर रकम प्रदान गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
संकलित रकमसँगै कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत रहेको थियो। मन्त्रालयका अनुसार हालसम्म संकलित रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग भने समावेश गरिएको छैन।


0 comment