काठमाडौं - भोटेकोसी बाढीमा परेर मृत्यु हुनेको संख्या बढ्दै जाँदा शव व्यवस्थापनका लागि आवश्यक झोलाको समेत अभाव देखिएको छ। शव प्याक गर्न प्रयोग हुने झोला अपुग भएपछि सरकारले भारतबाट ६ हजार थान झोला मगाएको छ।

भोटेकोसी र त्रिशूली नदीले बगाएर ल्याएका शव सुरक्षाकर्मीसहितको उद्धार टोलीले नदी तटीय क्षेत्रबाट संकलन गरिरहेको छ। हालसम्म ४ सय ८९ जनाको मृत्यु भएको जनाइएको छ।

उद्धार टोलीले नुवाकोट, धादिङ, चितवन, गोरखा, नवलपरासी पूर्व, तनहुँ र पश्चिम नवलपरासीका नदी तटीय क्षेत्रमा शव फेला पारेर संकलन गरिरहेको छ।

शव व्यवस्थापनका लागि आवश्यक ब्यागको अभाव भएपछि भारतबाट ६ हजार थान ब्याग मगाइएको हो। ती ब्याग शुक्रबार नेपाल आइपुग्ने जनाइएको छ।

बाढीपछि नदी तटीय क्षेत्रमा भेटिएका अधिकांश शवको अझै सनाखत हुन सकेको छैन। अहिलेसम्म न्यून संख्यामा मात्रै शवको पहिचान भएको बताइएको छ। सनाखत हुन नसकेका शवलाई लामो समयसम्म व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्रमा शव भेटिने क्रम जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।