काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाले रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा सम्पर्कविहीन भएका आफ्ना नागरिकको खोजी तथा उद्धारमा सहयोग गर्न आवश्यक परे नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ।

नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको सूचनामा भोटेकोशी नदीमा आएको बाढीका कारण विपद्जन्य घटना भएको जनाउँदै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा कार्यरत तथा बसोबास गर्ने नगरवासी प्रभावित भएको हुन सक्ने जनाएको छ।

नगरपालिकाले ती जिल्लामा रहेका नगरवासीसँग सम्पर्कविहीन भएको वा खोजी तथा उद्धार गर्नुपर्ने अवस्था आएमा नगरपालिकालाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ। विपद्को समयमा आवश्यक सहयोग तथा समन्वयका लागि नगरपालिकाले सम्पर्क व्यक्ति समेत तोकेको छ।

सूचनाअनुसार नगरप्रमुख उपेन्द्र कार्की र विपद् व्यवस्थापन शाखा प्रमुख हरिप्रसाद थिताललाई सम्पर्क गरी प्रभावित नागरिकबारे जानकारी गराउन सकिनेछ।

नगरपालिकाले विपद्का कारण प्रभावित आफ्ना नागरिकको अवस्था पहिचान गरी आवश्यक सहयोग तथा उद्धारका लागि समन्वय गर्न अग्रसर भएको छ।