काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव बढेको छ। ताल फुटेर आएको लेदोसहितको पानीको बहाव अहिले स्याप्रुबेसी आइपुगेको प्रहरीले जनाएको छ ।
थप बाढी आउन सक्ने जोखिम रहेकाले नदी किनारका बासिन्दा तथा उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई समेत सतर्क रहन आग्रह गरिएको हो।
विभिन्न कारणले हाल जोखिम क्षेत्रमै रहनुपरेका सबैलाई उच्च सतर्कता अपनाउन र कुनै पनि जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानतर्फ जान प्राधिकरणले अनुरोध गरेको छ।


0 comment