काठमाडौं - रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म २७० जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले दिउँसो साढे १ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म २७० जनाको शव फेला परेको हो ।
प्राप्त विवरण अनुसार सबैभन्दा धेरै चितवनमा १०८ जनाको शव फेला परेको छ। यसैगरी पूर्वी नवलपरासीमा ६२ जना, धादिङमा २७ जना, गोरखामा २० जना, रसुवामा १७ जना, पश्चिम नवलपरासीमा १५ जना, नुवाकोटमा १२ जना र तनहुँमा ९ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार विभिन्न जिल्लाहरूमा बाढीले बगाएर ल्याएका शवहरू फेला पर्ने क्रम जारी छ। विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूमध्ये हालसम्म २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन छन् ।
बाढीको चपेटामा परी घाइते भएकाहरुको संख्या ६६ पुगेको छ। जसअनुसार त्रिवि शिक्षण अस्पतालमा २६ जना, ट्रमा सेन्टरमा २० जना, वीर अस्पतालमा २ जना, नर्भिक अस्पतालमा २ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, मनमोहन अस्पतालमा १ जना उपचाररत छन् भने १४ जना डिस्चार्ज भइसकेका छन्।बाढी प्रभावित क्षेत्रमा सुरक्षा तथा उद्धारका लागि ४ हजार ०५० जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।


0 comment