काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध मु्द्दाको वहस सर्वोच्च अदालतमा सकिएको छ । 

आज भएको रवि लामिछाने विरुद्ध मु्द्दाको वहसमा लामिछाने पक्ष र विपक्षीका केही कानुनव्यवसायीहरुले बहस गरेका थिए ।

लामिछानेका तर्फबाट ४ जना कानुनव्यवसायीेहरु नरेन्द्र केसी, आशिष अधिकारी सुदिप पन्थ र यज्ञमणि न्यापानेले लामिछानेको पक्षमा बहस गरेका  थिए । यस्तैगरी रिट निवेदकका तर्फबाट कानुनव्यवसायी सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, र कीर्तिनाथ शर्मा पौडेललगायतले बहस गरेका थिए ।

मुद्दाको फैसला आजै आउन सक्ने संभावना रहेको रविको विपक्षमा बहस गरेका कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिएका छन् ।
इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहेका छन् ।
यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नतोक्नेगरी मुद्दाका रूपमा राख्न लगाएको थियो । अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारबाट लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको थियो । बुधबार मुद्दामाथिको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।