काठमाडौं – आज देशभर वसन्त पञ्चमी मनाई रहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सहभागी थिए ।
बिहीबार बिहान १० बजेर ४७ मिनेटको शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराएका हुन् ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन हनुमानढोका दरबार क्षेत्रका नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाले सलामी दिनाका साथै राष्ट्रियगान र पञ्चैबाजासमेत प्रस्तुत गरिएको थियो ।
मल्लकालमा वसन्तपुरको मोहनचोकमा वसन्तोत्सव मनाउने गरिएको थियो । कामदेवलाई माघशुक्ल पञ्चमीका दिन पूजा गरी वसन्तोत्सव गर्ने गरिएको हनुमानढोका दरबारमा रहेको अभिलेखमा उल्लेख गरिएको छ ।
0 comment