काठमाडौं - नेपाल टी-२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन्।

स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको जनाएको हो। बाराका अन्सारीलाई सप्तरीको राजविराजबाट र राजविराजका आलमलाई विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पुस ९ देखि २७ सम्म भएको नेपाल टी-२० लिगमा आदिलले जनकपुर रोयल्सबाट खेलेका थिए भने पूर्वराष्ट्रिय खेलाडी आलम भने कुनै टीमको सदस्य थिएनन्।

लिगमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो। समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु भेटेपछि त्यसमा संलग्नताको आशंकामा दुई क्रिकेटर पक्राउ गरेको हो।

म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ। स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने लगायतका विषयमा सेटिङ भएको हुन्छ। त्यसैको आधारमा सट्टेबाजी हुने गर्छ।