काठमाण्डौं – उपसभामुखमा निर्वाचित भएपछि (रास्वपा)की इन्दिरा रानामगर पार्टीबाट अलग भएकी छिन् ।

रानाले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन । सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा रानामगर निर्वाचित भएकी हुन् ।

रानाको प्रस्तावको पक्षमा १६६ मत,  विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको थियो । बैठकमा २६४ जना सांसदको उपस्थिति रहेकोले रानामगरले पाएको मतले उनलाई सभामुखखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको थियो । 

को हुन ईन्दिारा राना मगर ?

वाउन्न वर्षीया इन्दिरा राना मगर झापामा जन्मिएकी हुन् । उनी पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।
राजनीतिमा आउनु अघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा परिचित अनुहार हुन् इन्दिरा राना ।

उनको संस्थाले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेको छ ।
कोभिड महामारीका बेला उनले कैयौँ दिन आम्दानीको अभावमा भोका परेका सयौँ मानिसहरूलाई खानाको व्यवस्था गरेकी थिइन् ।

३ दशकदेखि उक्त काममा संलग्न रहेको बताउने रानाले त्यस क्रममा जेलमा बस्नुपर्ने विवशतामा रहेका सयौँ बालबालिकाको उद्धार गरिएको बताउँछिन् ।
उक्त योगदानका लागि बीबीसीले रानालाई सन् २०१७ मा बीबीसी १०० विमिन अर्थात् सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरूको सूचीमा राखेको थियो ।