काठमाडौं – फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटा प्लेटफर्म्सलाई अमेरिकाको न्यू मेक्सिको राज्यको एक अदालतले बालबालिकाको मानसिक स्वास्थ्य तथा अनलाइन सुरक्षामा गम्भीर लापरवाही गरेको ठहर गर्दै कुल ९४२ मिलियन अमेरिकी डलर (करिब ९४ करोड २० लाख डलर) तिर्न आदेश दिएको छ।

यसअघि मार्च महिनामा जूरीले मेटामाथि ३७५ मिलियन डलरको नागरिक जरिवाना लगाएको थियो। पछिल्लो आदेशमार्फत अदालतले थप ५६७ मिलियन डलर छुट्टै कोषमा जम्मा गर्न निर्देशन दिएको हो। यससँगै कम्पनीले तिर्नुपर्ने कुल रकम ९४२ मिलियन डलर पुगेको छ।

अदालतले फेसबुक र इन्स्टाग्रामका एल्गोरिदम तथा अन्य फिचरहरूले किशोर–किशोरीलाई हानिकारक सामग्रीतर्फ आकर्षित गरेको, बाल यौन शोषणसम्बन्धी जोखिम नियन्त्रणमा पर्याप्त प्रयास नगरेको तथा बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने तथ्यलाई बेवास्ता गरेको निष्कर्ष निकालेको छ।

अदालतको आदेशअनुसार उक्त रकममध्ये ठूलो हिस्सा बालबालिकाको मानसिक स्वास्थ्य उपचार, परामर्श सेवा, जनचेतना अभिवृद्धि तथा रोकथाम कार्यक्रम सञ्चालनका लागि खर्च गरिनेछ। साथै मेटालाई आफ्ना प्लेटफर्ममा किशोर प्रयोगकर्ताका लागि थप कडा सुरक्षा व्यवस्था लागू गर्न पनि निर्देशन दिइएको छ। यसअन्तर्गत उमेर प्रमाणीकरण प्रणाली सुधार, नाबालिगका लागि समय सीमा, विद्यालय तथा रातको समयमा सूचनामा नियन्त्रण, ‘लाइक’ संख्या लुकाउने लगायतका उपायहरू समावेश छन्।

यद्यपि मेटाले अदालतको निर्णयप्रति असहमति जनाउँदै आफूले किशोर प्रयोगकर्ताको सुरक्षाका लागि विभिन्न सुविधा विकास गरिसकेको दाबी गरेको छ। कम्पनीले निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने जनाएको छ।

यो फैसला अमेरिकामा सामाजिक सञ्जाल कम्पनीलाई बालबालिकाको सुरक्षासम्बन्धी जिम्मेवारीमा उत्तरदायी बनाउने दिशामा ऐतिहासिक मानिएको छ। कानुनी विज्ञहरूका अनुसार यस निर्णयले मेटाविरुद्ध विभिन्न अमेरिकी राज्यमा चलिरहेका अन्य मुद्दाहरूमा पनि प्रभाव पार्न सक्ने सम्भावना रहेको छ।