काठमाडौं - सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर राष्ट्रियसभामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको छ।
शुक्रबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारको गैरजिम्मेवार कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिएर तत्काल पदत्याग गर्नुपर्ने बताएका हुन्।
आफ्नो गृह जिल्ला सिरहाको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै सांसद कर्णले हिंसाका कारण सर्वसाधारण त्रसित बनेको बताए। ‘घर सम्झिन्छु, चारैतिर रगत बगिरहेको छ। काकालाई फोन गर्दा घरबाट निस्कने अवस्था छैन भन्नुहुन्छ, गोली चलिरहेको छ,’ उनले भने, ‘भर्खरै गणेश भाइको मृत्यु भएको खबर आएको छ, दर्जनौँ घाइते छन्। यस्तो पीडामा प्राविधिक विषयमा बोल्ने मेरो इच्छा छैन।’
कर्णले देवानगञ्जमा हुन सक्ने घटनाबारे सरकारलाई करिब एक महिनाअघि नै जानकारी हुँदाहुँदै पनि गृह मन्त्रालय र जिल्ला प्रशासनले आवश्यक संवेदनशीलता नदेखाएको आरोप लगाए। प्रधानमन्त्री जनतासँग संवाद गर्न असफल भएको र गृहमन्त्री सामान्य विषयमा सक्रिय देखिए पनि गम्भीर सुरक्षा चुनौतीप्रति उदासीन रहेको उनको आरोप थियो।
विगतमा राज्यको गोलीबाट नागरिकको मृत्यु हुँदा प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने नजिर स्थापित भएको उल्लेख गर्दै उनले अहिले पनि सोही मान्यताअनुसार प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए।


0 comment