काठमाडौं - खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी एक बालिका मृत फेला परेकी छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया रञ्जिता दाहाल शंकास्पद अवस्थामा मृत फेला परेकी हुन्।
हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब तीन बजेतिर घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी दाहाल आज बिहान आफ्नै घर नजिकै रहेको खन्युको फेदमा मृत अवस्थामा फेला परेकी हुन्।
कक्षा–१० मा अध्ययनरत दाहाल भोलिदेखि विद्यालयमा आयोजना हुन लागेको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन्। प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे तीन बजेतिर घर फर्केकी थिइन्।
बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी दाहाल घरभन्दा करिब २०० मिटर टाढा मृत फेला परेकी छन्। घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको हो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
0 comment