काठमाडौं - यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले एक बर्षको अवधिमा २२ करोड १७ लाख ७१ हजार ११० रुपैंयाँ राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको अवधिमा कर्यालयले विभिन्न ९ वटा शीर्षकमा गत बर्ष भन्दा २ करोड बढी राजश्व संकलन गरेको हो ।
कार्यालयले आर्थिक बर्ष २०८१/०८२ मा २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैंयाँ राजश्व संकलन गरेकोमा आ. व. २०८२/०८३ मा २ करोड बढी राजश्व संकलन भएको कार्यालयका निमित्त प्रमुख श्रीराम पाण्डेले बताए । यातायात सेवा कार्यालय पाल्पाले सवारीसाधन कर वापत १७ करोड २९ लाख ८ हजार ५ सय ३५ रुपैंयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट १ लाख २७ हजार, सवारी नविकरण वापत १ करोड १२ लाख ८३ हजार ४ सय ५० रुपैया, सवारीचालक अनुमति पत्र शुल्क वापत २ करोड ८७ लाख ९९ हजार रुपैंयाँ, यातायात क्षेत्रको आम्दानी वापत २६ लाख ६८ हजार ३ सय रुपैंयाँ, आयकर वापत ५९ लाख ८४ हजार ८ सय २५ रुपैंयाँ गरी २२ करोड १७ लाख ७१ हजार १ सय १० रुपैंयाँ राजश्व संकलन भएको निमित्त प्रमुख पाण्डेले बताए ।
सेवा कार्यालयबाट ३५ हजार १ सय ४६ वटा निजी तथा सरकारी सवारी साधन नवीकरण भएका छन भने १ हजार ५ सय ७१ वटा सवारी साधनबाट स्थायी बाटो इजाजतपत्र रुट नविकरण भएको छ । १ हजार ३ सय ६२ वटा सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास, ५ हजार सवारी साधनले, अस्थायी बाटो इजाजतपत्र पटके सेवा लिएका छन् ।
कार्यालयबाट ७ हजार ७ सय ७३ जनाले नयाँ सवारी चालक अनुमति पत्रको लागि दर्ता गरेका छन् । जसमा लिखित परीक्षामा ६ हजार ३ सय ९८ जना पास भएका छन् । कार्यालयले एक बर्षको अवधिमा ५ हजार ५ सय ४१ वटा नयाँ सवारीचालक अनुमतिपत्र जारी गरेको छ । ट्रायल परीक्षामा ११ हजार ३ सय ७ जना सहभागी भएकोमा ५ हजार ८१ जना पास भएको र ३ हजार ६ सय १० जनाले पुनः रिट्रायल परीक्षा दिएको कार्यालयले जनाएको छ ।
चालक अनुमतिपत्रका सवारी साधनको बर्ग थपको लागि १ हजार ५ सय ६२ जनाले आवेदन दिएको, ६ सय ४९ जनाको बर्ग थप भएको छ । कार्यालयबाट सवारी चालक अनुमतिपत्र नविरण ४ हजार ५ सय ५१ जनाबाट भएको, प्रतिलिपि ४ जनाले लिएका छन् । यसै गरी कार्यालयले एक बर्षको अवधिमा ११४ वटा लिखित परीक्षा लिएकोमा ३४ वटा ट्रायल परीक्षा लिएको निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिए । यातायात सेवा कार्यालय पाल्पाबाट दुई पाङ्ग्रेमा स्कुटर, मोटरसाईकल, चार पाङ्ग्रेमा जीप, कार भ्यान चालक अनुमतिपत्र प्रदान, सबै कसिमका सवारीसाधन, चालक अनुमतिपत्र नविकरण, स्थायी अस्थायी रुट प्रदान लगायतका प्रदान हुँदै आएका छन् ।


0 comment