काठमाडौं - सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृ्त्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला,अवकाश प्राप्त क्याप्टेन सुनिल थापा,जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा सदस्य सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका छन्। 

आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।

बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ।

साथै सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकिएको छ।

आज बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान अवतरणका क्रममा पोखरा अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

जहाजमा सवार ७२ जनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए जसमा ५३ नेपाली यात्रु र १५ विदेशी नागरिक रहेको यती एयरलाइन्सले जनाएको छ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन।