पोखरा - आज बिहान काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ।
विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रसियन, आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जना यात्रुका साथै चालक दलका चार जना सदस्य गरी ७२ जना सवार थिए जसमध्य ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए।
यती एअरलाइन्सको 9N-ANC, ATR-72 500 विमान पोखरा टावरसँग विहान १०:५० बजे सेती खोँचसम्म सम्पर्कमा आएको र त्यसपश्चात विमान दुर्घटना भएको हो ।
काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताईएको छ।
दुर्घटनास्थलबाट अहिलेसम्म ६५ जनाको शव फेला परेको छ।
फेला परेका ६५ शवमध्ये ३० शव गण्डकी अस्पतालमा पुर्याइएको छ भने बाँकी ३५ शव दुर्घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए।
एउटा शव खोंचमा अल्झिएको अवस्थामा देखिए पनि उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। उद्धार कार्य जारी छ। अझै ७ जनाको अवस्था अज्ञात छ।
शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अधिकांश शवहरू पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ।
0 comment