काठमाडौं - बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट ९९ सय दिनपछि थुनामुक्त भएका छन्। उनी ९९ सय दिनपछि थुनामुक्त भएका हुन्। प्रहरीमा निवेदन परेपछि सन्दीप गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ परेका थिए।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो। 

थुनामुक्त भएपछि सन्दीपले अदालतको आदेशलाई सम्मान गरेर अगाडि बढ्ने बताउँदै छिट्टै खेलमा फर्किने बताए। उनले जित हार आफ्नो ठाउँमा भए पनि कानुनअनुसार आफू अघि बढ्ने बताए। 'अहिले परिवारबाहेक म केही सोच्न सकिरहेको छैन। धेरै प्रतिक्रिया दिने हालतमा पनि छैन। समयसँगै सबै कुरा सामुने आउँछ,' उनले भने। 

सन्दीप धरौटीमा रिहा भए पनि अदालतले उनीमाथि अदालतले विदेश जान रोकदेखि प्रहरीलाई मोबाइल ट्र्याक गर्ने अधिकार प्रदान गरेको छ। काठमाडौं उपत्यका छाड्न समेत सन्दीपले प्रहरीलाई निवेदन दिनुपर्ने छ। पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको आदेशमा उल्लेख छ। 

यता नेपाल क्रिकेट संघले सन्दीपलाई क्रिकेटको जिम्मेवारीमा फर्काउने वा नफर्काउने विषयमा आन्तरिक छलफल गरिरहेको छ। क्यान स्रोतका अनुसार यस विषयमा गम्भीर छलफल गरेर मात्रै निर्णय लिइनेछ।