काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा भएको भ्रष्टाचारको यथाशिघ्र निष्पक्ष छानबिनको माग गरेका छन् ।

मधेस सरकारका कर्मचारीले कमिसनलाई आफ्नो अधिकार सम्झेको टिप्पणी गर्दै झाले यसलाई सुधार गर्न नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँग माग गरेका छन्। 

नवनियुक्त मुख्यमन्त्रीलाई बधाई दिँदै समाजिक सञ्जालमा सांसद् झाले भनेका छन्, ‘मधेस सरकारको कर्मचारीतन्त्रले ‘पीसी’लाई अधिकार सम्झेको छ। त्यो संस्कार हटाउनुस्। सरकार नागरिकका लागि होस्, दल वा दलालका लागि हैन। सक्षम र स्वच्छ व्यक्तिलाई मन्त्री बनाउनुहोस्। मन्त्रालय मन्त्रीले चलाओस्, उसको सन्तानले हैन।’ 

गत सरकारमा नवल किशोर यादव समाजिक विकास मन्त्री रहँदा उनको छोरोले मन्त्रालय चलाएको तथ्य बाहिर आएको थियो।

सरकारले विपन्न नागरिकहरुले काम गर्नु पर्नेमा सांसद् झाले जोड दिएका छन्। मुख्यमन्त्रीलाई सुझाउँदै उनले अघि भनेका छन्, ‘याद रहोस्, राज्य कमजोरको सेवा-सहयोगका लागि चाहिन्छ। बलवानको सेवामा समय नखर्चिनुहोस्। पाएको बजेटको सही उपयोग होस्।’

मधेस सरकारले संघीयतालाई कार्यान्वन गर्न काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। उनले मुख्यमन्त्रीलाई भनेका छन्, ‘याद रहोस्, मधेसमा संघीयता कमजोर भए देशमै कमजोर हुनेछ।’