काठमाडौं - अर्थ मन्त्रालयका सचिव तोयम राया नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्य बनेका छन्। 

रायाले बिहीबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष सदस्यको रूपमा शपथ लिए। सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले रायालाई पद तथा गोपनीयताको शथप ग्रहण गराए।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो।