काठमाडौं - शिक्षा नियमावलीको दशौँ संशोधनमा गरिएको शिक्षक सरुवासम्बन्धी व्यवस्थाप्रति तीव्र असन्तुष्टि जनाउँदै शिक्षकहरू आन्दोलन घोषणा गरेका छन् । 'सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समिति' ले विज्ञप्ति जारी गर्दै उक्त संशोधनलाई गम्भीर त्रुटिपूर्ण भन्दै तत्काल खारेजीको माग गरेको छ।

शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट छनोट भई सेवा प्रवेश गरेका करिब ४० हजार नयाँ पुस्ताका शिक्षकहरूले सरकारको पछिल्लो नीतिगत निर्णयले आफूहरूलाई निरास बनाएको संयोजन नेत्रलाल भट्टराईले बताए । शिक्षकको वास्तविक जीवन, भौगोलिक विविधता, पारिवारिक दायित्व र सामाजिक यथार्थलाई नबुझी ल्याइएको व्यवस्थाले शिक्षण पेसालाई निरुत्साहित बनाएको संघर्ष समितिको ठहर गरेको उल्लेख गरिएको छ । 

साउन ९ गते जुममार्फत आयोजना गरिएको नवप्रवेशी युवा शिक्षकहरूको बैठकले हतारमा ल्याइएको त्रुटिपूर्ण १०औँ संशोधन खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। संघर्ष समितिले साउन १५ गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् विरोध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए । उक्त प्रदर्शनमा देशभरका शिक्षक, शिक्षाप्रेमी तथा सरोकारवालाहरूलाई उपस्थित भई सहयोग गर्न समितिले आह्वान समेत  गरेको छ।

आन्दोलनलाई देशव्यापी रूपमा परिचालन गर्न समितिले सातै प्रदेशका संयोजकहरूसहित केन्द्रीय पदाधिकारीहरूको जिम्मेवारीसमेत तोकेको छ।

कोशी प्रदेशमा ओम प्रकाश बुढाथोकी, मधेश प्रदेशमा लक्ष्मी खड्का धामी,बागमती प्रदेशमा किशोर न्यौपाने, गण्डकी, प्रदेशमा कला दबाडी, लुम्बिनी प्रदेशमा पदमा गौतम, कर्णाली प्रदेशमा तारा कुमारी खड्का र सुदूरपश्चिम प्रदेशमा लोकेन्द्र कुँवरलाई तोकिएको छ । 

त्यसैगरी लेखा संयोजक वीरेन्द्रप्रसाद भट्ट,राष्ट्रिय प्रवक्ता रव कण्डेल, राष्ट्रिय महासचिव हिमाल कडेल, राष्ट्रिय संयोजक नेत्रलाल भट्टराईलाई तोकिएको संघर्ष समितिका संयोजक नेत्रलाल भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । शिक्षा क्षेत्रको सुधार र शिक्षकहरूको हकहितका लागि यो एकजुट हुन शिक्षक समुदायलाई आग्रह गरिएको छ।