काठमाडौं - पाँच बुँदे माग राखी तीन दिनदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्दै आएका प्रा. डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको अस्पताल प्रमुख डा. हेमराज पाण्डेले जानकारी दिए । लगातार खाना नखाएपछि रगतमा ग्लुकोजको मात्रा घट्नुका साथै थप समस्या आउने देखिएपछि प्रशासनसँगको समन्वयमा अस्पताल भर्ना गरिएको उनले बताए ।
यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा केसीको उपचार व्यवस्थापनबारे टेलिफोन गरी चासो लिनुभएको छ । डा. पाण्डेका अनुसार मन्त्री मेहताले उहाँसँग टेलिफोन गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएका हुन् ।
“मन्त्रीले डा. केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका थिए । यहाँ सम्भव भएसम्म सबै उपचार गर्न र केही समस्या भए तुरुन्त वैकल्पिक व्यवस्थाका लागि पहल गर्न र काठमाडौँ रेफर गर्नुपर्ने अवस्थाबारे जानकारी गराउन भनेका छन् । सोहीअनुसार हामीले उच्च सतर्कतासहित निगरानी गरिरहेका छौँ”, अस्पताल प्रमुख डा. पाण्डेले भने ।


0 comment