काठमाडौं - लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो।

टस जितेर ब्याटिङ थालेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले ८ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो। 

विराटनगरका लागि अर्जुन साउदले ४० बलमा १ चौका र २ छक्कासहित ३४ रन जोडे भने पृथु बाँस्कोटा २८ बलमा ३१ रन जोडे। विराटनगरका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन।

बलिङतर्फ लुम्बिनीका हरमित सिंहले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। यस्तै, सागर ढकालले १९ रन खर्चेर २ विकेट लिए। किशोर महतो र विपुल शर्माले १/१ विकेट लिए।

यसअघि लुम्बिनीका लागि ओपनर मिलान्थाले २८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन जोडेका थिए। पहिलो विकेटका लागि मिलान्थासँग ६४ रनको साझेदारी गरेका हरमित सिंह १८ बलमा ३० रन जोडेका थिए।

कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन र इशान पाण्डेले १८ रन जोडे।

विराटनगरका लागि राज नननले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। यस्तै, नन्दन यादवले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए। किओन जोसेफ, रोहित पौडेल, सूर्य तामाङ र हुसेन तलतले १/१ विकेट लिए।

लिग चरणबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा आइपुगेको लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। तेस्रो स्थान हासिल गरेको विराटनगरले इलिमिनेटरमा काठमाडौं नाइट्स र दोस्रो क्वालिफायरमा जनकपुरलाई हराएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा जारी प्रतियोगिताको विजेता लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै, उपविजेता विराटनगरले ३० लाख तथा तेस्रो जनकपुरले १० लाख प्राप्त गर्नेछन्। चौथो काठमाडौंले पाँच लाख प्राप्त गर्नेछ।

हुसेन तलत सर्वोत्कृष्ट खेलाडी

विराटनगर सुपर किङ्ग्सका हुसेन तलत नेपाल टी २० लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। पाकिस्तानी क्रिकेटर तलतको अल राउन्ड प्रदर्शनमा विराटनगर फाइनलसम्म पुगेको थियो।

तलतले बलिङतर्फ १० विकेट र ब्याटिङमा तीन सय ६७ रन बनाएका थिए। उनले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।

नाइट्सका अविनाश बोहरा उत्कृष्ट बलर घोषित भएका छन्। काठमाडौं प्ले अफसम्म पुग्दा अविनाशले १९ विकेट लिएका थिए। यस्तै, फार वेस्टर्न युनाइटेडका कप्तान हस्मतुल्लाह शाहिदी उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन्। उनले ४ सय रन बनाएका थिए। विधागत उत्कृष्ट शाहिदी र अविनाशले जनही २ लाख ५० हजार प्राप्त गर्नेछन्।

विराटनगरका सूर्य तामाङ इमर्जिङ खेलाडी बनेका छन्। उनले नेपाल टी २० लिगको पहिलो संस्करणमा १२ विकेट लिएका थिए। सूर्यले एक लाख ८० हजार रुपैयाँ प्राप्त गर्नेछन्।