काठमाडौं - ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम मूलढोकाअघि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन्। 

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज लगायतको उपस्थिती रहेको थियो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म र्‍याली निकालेको थियो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत राज संस्था शुभेच्छुक तथा सर्वसाधारणले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए । 

प्रत्येक वर्ष पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइने गरिन्छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा भएका थिए।

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। 

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वी जयन्तीका अवसरमा सरकारले बुधबार सार्वजनिक विदा पनि दिएको छ ।