काठमाडौं – पत्नी नेहा चौधरीलाइ दाइजोकै निहुँमा घरेलु हिंसा गरी घर निकाला गरेको आरोपमा उँनका पति महोत्तरीे रामगोपालपुर ५ का डा. पंकज चौधरीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षकालागि कारागार जेल चलान गरेको हो ।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी औरही –१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् । तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो ।

पत्नी नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक बहसपछि महोत्तरी जिल्ला अदालतले उनका पति डा. पंकजलाई पुर्पक्षका लागि कारागार पठाएको हो । इजलास नं. २ का न्यायाधीशद्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तदार मदन प्रसाद जयसवालले जानकारी दिएका छन् । बिहीबार अदालतमा दर्ता भएको सो मुद्दामा शुक्रबार थुनछेक बहस भएको थियो ।

अदालतको आदेश लगत्तै प्रहरीले उनलाई कारागार पठाएको छ । नेहाले घरमै पुगेर धर्ना बसेपछि डा. पंकजलाई मंसिर २७ गते साँझ महोत्तरी प्रहरीले उनलाई पक्राउ गरेको थियो । नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएका छन् । उनले आफूले विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।

नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । डा. पंकजका बुवा, आमा र परिवारका अन्य सदस्यमाथि पनि मुद्दा छ । तर उनका अन्य सबै सदस्य फरार छन् । घरमा ताला लगाएर उनीहरु सम्पर्क विहिन बनेपछि पक्राउ पर्न नसकेको प्रहरी श्रोतले जनाएको छ ।