काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारे।

सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री दाहाललाई बधाई दिन शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । त्यस अवसरमा विद्यार्थीले उनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै  प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका थिए ।  

सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको कुलपति हुन्।

सोही क्रममा वाम एकतालगायत समसामयिक राजनीतिक विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको थियो ।