काठमाडौं - कोसी अस्पतालको संरचनामा विराटनगर महानगरपालिकाले बिहीबार डोजर चलाएको छ।
प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था अगाडि निर्माण गरिएका संरचना महानगरले डोजर लगाएर भत्काएको हो। नक्सा पास नगरिकन अनधिकृत रूपमा संरचना बनाएको पाइएपछि डोजर लगाएर भत्काउनु परेको दाबी महानगरले गरेको छ।
महानगरका अनुसार विराटनगरभित्र नक्सा पास नगरिकन बनाइएका अनधिकृत संरचना हटाउने अभियान सुरु गरिएको छ। त्यसअन्तर्गत कोसी अस्पतालको संरचना हटाइएको हो।
नक्सा पास गर्न पटकपटक आग्रह गर्दा पनि अस्पतालले अटेर गरेपछि महानगर आफैँले डोजर लगाएर भत्काएको मेयर नागेश कोइरालाले बताए।
उनका अनुसार महानगर प्रहरीले अनधिकृत संरचनामा डोजर चलाएको छ। अस्पतालले नक्सा पास नगरिकन सटर बनाएको र महानगरलाई करसमेत नतिरेको कोइरालाको भनाइ छ।
महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका वर–पीपल र अन्य रुखको हाँगासमेत हटाएको छ। भाँचिएर मानवीय क्षति हुने जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए।
उनले महानगरले २ पटक पत्र काटेर नक्सा पास गर्न र बहाल कर तिर्न आउन आग्रह गर्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि डोजर चलाउनु परेको दाबी गरे।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित शहर बनाउने अभियानको थालनी भएको बताए।
महानगरको अभियानमा सबैतिरबाट अत्यन्तै राम्रो साथ र सहयोग पाइएको उनको भनाइ छ। उनले विराटनगरमा ६० प्रतिशतभन्दा बढी संरचना नक्सा पास नगरिकन बनाइएको पनि बताए। त्यस्तै ३० प्रतिशतले माथिल्लो तलाको नक्सा पास नगरेको तथ्यांक रहेको जानकारी कोइरालाले दिए।
महानगरका प्रवक्ता सन्तोष न्यौपानेले नियमविपरीतका संरचनाको नक्सा पासका लागि यसअघि नै सूचना जारी गरिसकिएको बताए।
तर, अटेर गर्ने गरिएपछि डोजर लगाएर त्यस्ता संरचना हटाउन थालिएको उनको भनाइ छ। न्यौपानेले अनधिकृत संरचना हटाउने अभियानलाई महानगरको सबै वडामा पुर्याइने जानकारी दिए।
0 comment