काठमाडौं - उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौं र ललितपुरस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत निरीक्षणपछि उनले प्रदेश सरकारसँगको समन्वयमा यातायात क्षेत्रको सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताएका हुन्। 

यातायात व्यवस्था सुधारका लागि संघीय र प्रदेश सरकारबीच छलफल भइरहेको उनले बताए। अहिलेसम्मका यातायात व्यवस्थाका कमजोरीलाई सच्याउने र समस्या समाधान गरी सेवाग्राहीलाई छिटोभन्दा छिटो गुणस्तरीय सेवा दिइने उनको भनाइ छ। 

नागरिकले सेवा लिँदा दुःख पाइरहेकाले स्थलगत रूपमा अवलोकन गरी प्रत्यक्ष जानकारी लिन आफू कार्यालय आइपुगेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

डिजिटल माध्यमबाट सेवा प्रवाह तथा कर्मचारीलाई अभिमुखीकरण र र आवश्यकता अनुसार कर्मचारी थप गरी समस्या हल गरिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।

प्रविधिको युगमा पनि पैसा बुझाउन कार्यालय धाउनुपर्ने लगायतका कारणले पनि सेवाग्राहीले दुःख पाएको उनको भनाइ छ।