काठमाडौं - काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ले नेपाल टी-२० लिग खेलिरहेका आफ्नो टोलिको एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)सँग प्रायोजन अधिकार किनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा जारी प्रतियोगिताका खेलमा फिक्सिङ भइरहेको चर्चाले अहिले क्रिकेट वृत्त तरिङ्गित छ।

मंगलबार विराटनगर सुपर किङ्ग्सविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कप्तान ज्ञानेन्द्रले एक खेलाडीलाई प्रस्ताव आएको बताए।

‘अरु टिमको थाहा छैन, हाम्रो एउटा खेलाडीलाई ‘अप्रोच गरेको थियो,’ ज्ञानेन्द्रले पत्रकारलाई उत्तर दिँदै भने, ‘हामीले एसीयू (एन्टी करप्सन युनिट)लाई जानकारी गराएका छौं।’

अप्रोच आउनु र फिक्सिङ हुनु फरक भएको बताउँदै ज्ञानेन्द्रले कसले गरेको कताबाट प्रस्ताव आएको गोप्य राख्नु नै खेलाडीका लागि पनि सही हुने बताए।

जारी लिगअन्तर्गत आज बिहान तय भएको काठमाडौं र विराटनगर सुपर किङ्ग्सबीचको खेलअघि खेलाडी टस गर्न मानेका थिएनन्। सम्बन्धित निकायलाई अगाडि ल्याउन आफूहरुले त्यसो गरेको पनि ज्ञानेन्द्रले बताएका छन्।

‘मुख्य कुरा पेमेन्टको नै थियो,’ ज्ञानेन्द्रले भने, ‘हामी र टिम अनरबीच कम्युनिकेसन ग्याप भइरहेको छ। त्यही भएर जिम्मेवार पक्ष अगाडि आइदिनुस् भनेर पहिले ‘कंक्रिट’ कमिटमेन्ट गरियोस् भनेको हो।’

कप्तान ज्ञानेन्द्रले खास के भइरहेको छ भन्ने नै थाहा नभएकाले मैदानमा पहिले कुरा सुनिदिनुहोस् भनेको बताए।

‘पहिले भएका बाचाहरू पूरा हुनुपर्ने थियो, हुनुपर्ने भन्ने थियो। जो आउनुपर्ने सम्पर्कमा आउनु भएन, त्यही भएर कन्सर्न देखाएको हो,’ ज्ञानेन्द्रले भने, ‘प्राय टिमको अवस्था यही छ। विदेशी खेलाडी जाने, नमान्ने कुराले गर्दा विवाद भएको हो।’

नेपाल क्रिकेट संघ (क्यान)ले आज रातिसम्म पारिश्रमिक दिने आस्वासन दिएपछि खेल सुरु भएको ज्ञानेन्द्रले बताए।

‘आज रातिसम्म सबै कुरा हुने भन्ने तयारी छ। हुन्छ भन्ने आसमा छौं,’ उनले भने, ‘भएन भने भन्दा पनि हुन्छ भन्नेमा आशावादी छौं। भएन भने त्यही बेला निर्णय होला।’

टिम मालिकसँग कुराकानी नभएको र टिम व्यवस्थापक तथा कप्तानहरूले कुरा गर्दा पनि ठोस कुरा नआएको उनले बताए।

‘यो सबैभन्दा ग्रान्ड टुर्नामेन्ट र जिम्मेवार पक्षबाट हुँदा अझै ढुक्क हुन पाइन्छ भन्ने आश हुन्छ,’ ज्ञानेन्द्रले भने।