काठमाडौं - क्रिकेटर सन्दीप लामिछाने प्रकणमा नयाँ ट्वीस्ट आएको छ । लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको तीन वटा जन्म मिति रहेको खबर बाहिरिएपछि प्रकरणले नयाँ मोड लिएको हो ।

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवादका सम्बन्धमा निरुपण गर्नका लागि काठमाडौं जिल्ला अदालतले माग गरेको कागजातमा किशोरीको जन्म मिति सरकारी अभिलेखमा २०६१ असार १८ गते उल्लेख रहेको पाइएको छ ।

यसअघि किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको प्रतिवादी सन्दीप लामिछाने पक्षका वकिलहरुले दावी गरेका थिए । यता वादी अर्थात् नेपाल सरकारको पक्षबाट बहस गरिरहेका अधिवक्ता र सरकारी वकिलहरुले भने किशोरीको जन्म मिति २०६२ जेठ १८ गते नै रहेको र वारदात भएको भनिएको समयमा उनी नाबालिग नै रहेको दावी गरिरहेका छन् ।

किशोरीको जन्म मिति खुल्ने विद्यालयको सर्टिफिकेट, उनले लिएको जन्मदर्ताको प्रतिलिपि र नागरिकतामा उनको जन्म मिति २०६२ साल जेठ १८ गते उल्लेख छ । यसरी तीन वटा जन्म मिति सार्वजनिक भएपछि आधिकारिक कुनलाई मान्ने भन्नेबारे प्रश्न उठेको छ ।

जन्म मिति २०६२ जेठ १८ गते मान्ने हो भने वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते राति र भदौ ६ गतेको बिहानसम्मको समयमा उनको उमेर १७ वर्ष मात्रै पूरा भएको हुन्छ । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीले आफूमाथि २०७९ भदौ ५ गतेको रातिदेखि भदौ ६ गतेको बिहानसम्म दुईपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

किशोरीको उमेरका सम्बन्धमा सरकार वादी भएर दायर भएको मुद्दामा वादी पक्षले किशोरीको जन्म मिति २०६२ जेठ १८ गते रहेको कागजात पेश गरेका छन् । किशोरीको जन्म मिति खुल्ने कागजातमा उनको नागरिकताको फोटोकपी र शैक्षिक प्रमाणपत्रको फोटोकपी पेस गरिएको छ ।

तर किशोरीले आफू पढेको कास्कीस्थित विद्यालयमा पेस गरेको कागजात र विद्यालयको दर्ता किताबमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते उल्लेख छ । किशोरी आफैले भरेको फारममा उनले आफ्नो जन्म मिति २०६१ जेठ १८ गते उल्लेख गरेकी छन् ।

यसलाई जन्म मितिका रुपमा मान्ने हो भने वारदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्ष ३ महिना पूरा भएको हुन्छ र यसलाई सहमतिको यौ’नसम्बन्धका लागि पुगेको उमेर मानिन्छ ।

तर सबैभन्दा महत्वपूर्ण र प्रमाणका रुपमा लिन मिल्ने स्थानीय तहमा रहेको जन्मदर्तामा किशोरीको जन्ममिति २०६१ असार १८ गते रहेको पाइएको छ ।

नुवाकोटको एक स्थानीय तहले काठमाडौैं जिल्ला अदालतमा पठाएको उमेर खुल्ने कागजात र त्यससँग सम्बन्धित प्रमाणमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ ।