काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा संविधान र कानूनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि निर्वाचन प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्री दाहालले आयोगका पदाधिकारीलाई आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले भने, ‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलबीच छलफल गरेर एउटा निष्कर्षमा पुगौंला ।’
सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद व्यक्त गरे ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत उपस्थित थिए ।
बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।


0 comment