काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रतिनिधिमण्डलले काठमाडौंस्थित कागेश्वरी मनोहरा नगर अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ ।

स्वास्थ्य सेवा विभाग र डब्ल्यूएचओको संयुक्त टोलीले सोमबार अस्पतालका विभिन्न विभागहरूको निरीक्षण गर्दै सेवा प्रवाह, उपचार प्रणाली, संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) का अभ्यास, औषधि व्यवस्थापन र समुदायस्तरमा सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रमबारे विस्तृत जानकारी लिएको थियो। अवलोकनका क्रममा टोलीले AMR नियन्त्रण तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक प्राविधिक सुझावसमेत प्रदान गरेको अस्पतालले जनाएको छ।

साथै सो अवसरमा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा, उपचार प्रणाली तथा एन्टिमाइक्रोबियल प्रतिरोधी (AMR) नियन्त्रणका लागि गरिएका प्रयासहरूको समीक्षा गरियो।

अवलोकनका क्रममा डब्ल्यूएचओ तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले अस्पतालले उपचारात्मक , निरोधात्मक, प्रवर्द्धनात्मक  तथा पुनर्स्थापनात्मक स्वास्थ्य सेवाहरूलाई एकीकृत रूपमा समुदायसम्म पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए।

प्रतिनिधि टोलीले अस्पतालको सकारात्मक कार्य वातावरण, व्यवस्थित सेवा प्रवाह, सेवाप्रतिको प्रतिबद्धता तथा समुदायमुखी अभ्यासलाई अन्य स्थानीय तहका लागि समेत उदाहरणीय ‘रोल मोडल’ प्रयासका रूपमा मूल्याङ्कन गरेको जनाएको छ।

अस्पताल प्रशासनले भ्रमणका क्रममा प्राप्त सुझाव, अनुभव र सिकाइलाई आत्मसात् गर्दै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय तथा नागरिकमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नगर प्रमुख उपेन्द्र कार्कीले छिट्टै १०० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणको दिशामा अघि बढेको जानकारी गराउँदै प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण नै नागरिकको स्वास्थ्य सुधारको प्रमुख आधार भएको बताए।

उनले AMR नियन्त्रण, IPC अभ्यासको प्रभावकारी कार्यान्वयन तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी, अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले विद्यमान स्वास्थ्य प्रणाली तथा निर्देशिकाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। मेडिकल सुपरिटेन्डेन्ट डा. अनामिका सिंहले अस्पतालको वर्तमान अवस्था, जनशक्ति, सेवा प्रवाह र उपचार प्रणालीबारे टोलीलाई जानकारी गराएकी थिइन्।

अस्पतालका अनुसार संयुक्त राष्ट्रसंघीय निकाय र सरकारी प्रतिनिधिमण्डलको यो भ्रमणले AMR नियन्त्रण तथा समुदायमुखी स्वास्थ्य प्रणाली निर्माणलाई थप सुदृढ बनाउन महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको छ।

अवलोकन टोलीमा डब्ल्यूएचओ मुख्यालयका वरिष्ठ प्राविधिक विज्ञ शम्सुज्जोहा बल सैयद, डब्ल्यूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयका प्राविधिक विशेषज्ञ डा. बासिम तथा डब्ल्यूएचओ नेपालका किमत अधिकारी, सौगात प्रधान ,स्वास्थ्य सेवा विभागका कार्यकारी निर्देशक डा. अमृत पोखरेल र जनस्वास्थ्य तथा रोग नियन्त्रण क्षेत्रका वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. फरेन्द्र बराल सहभागी थिए।