काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने स्पष्ट पारेकी छन्

बिहीबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेर मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते देशभर एकैचरणमा निर्वाचन हुने स्पष्ट पारेकी हुन्। तोकिएको मितिमा निर्वाचन गरेर मतपरिणाम आएपनि आफ्नो जिम्मेवारी पूरा गरेर आफू घर फर्किने उनले बताइन् ।

उनले फागुन २१ गते देशभरको मौसम राम्रो हुने विश्वास व्यक्त गरिन् । प्रधामन्त्री कार्कीले मतपत्र छपाइको काम हेर्दा निकै उत्साह लागेको धारणा राखिन् । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र अब जनताले छाप मात्रै लगाउन बाँकी रहेको बताइन् ।

त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा हरहालतमा निर्वाचन हुने र सवै तयारी सकारात्मक ढंगले अघि बढेको बताए । निर्वाचनका लागि कुनै सुरक्षा चुनौती नरहेको पनि उनले बताए ।