काठमाडौं - लर्न एण्ड अर्न कार्यक्रममार्फत इजरायल गई कृषि अध्ययन गरी नेपाल फर्केर विभिन्न कृषि तथा पशुपालन व्यवसाय गरिरहेका सात युवा पुरस्कृत भएका छन्।
साना किसान लघुवित्त वित्तीय संस्था र इजरायली राजदूतावासले लर्न एण्ड अर्न कार्यक्रमको १०औं वाषिकोत्सवका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सात प्रदेशबाट छानिएका उत्कृष्ट २१ जना युवा किसानबाट उत्कृष्ट सातलाई नगद एक लाख पुरस्कारसहित पुरस्कृत गरिएको हो।
इजरायलको विभिन्न कृषि कलेजमा तालिम लिएर फर्केका तीन हजार एक सय ६१ जना युवालाई आवेदन खुल्ला गरिएको थियो। एक सयभन्दा बढी युवाको सुरुवाती आवेदन प्राप्त भएपश्चात प्रत्येक प्रदेशबाट उत्कृष्ट तीन छनौट गरिएको थियो। उत्कृष्ट तीनमध्येबाट पनि प्रत्येक प्रदेशको एक जनालाई एकलाख नगद पुरस्कार प्रदान गरिएको हो।
उत्कृष्ट युवा कृषि पुरस्कार २०७९ मा प्रदेश १ बाट झापामा केरा खेती गरिरहेका चन्द्र बस्नेत, मधेस प्रदेशबाट बारामा तरकारी खेती गरिरहेका सन्तोष कुमार यादव, बागमती प्रदेशबाट धादिङमा व्यवसायिक तरकारी खेती गरिरहेका युद्ध प्रसाद न्यौपाने, गण्डकी प्रदेशबाट तनहुँमा बाख्रा पालन गरिरहेका शिव कुमार आले, लुम्बिनी प्रदेशबाट रुपन्देहीमा माछापालन गरिरहेकी सृजना थारु, कर्णाली प्रदेशबाट सुर्खेतको लाटीकोइलीमा गाईपालन गरिरहेका दिपेन्द्र कार्की र सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुरका विमल भण्डारी पुरस्कृत भएका छन्।
कार्यक्रममा कृषि तथा पशुन्छि मन्त्री मृगेन्द्र कुमार सिंहले इजरायल सरकार र नेपालस्थित राजदूतावासले नेपालका साना किसान परिवारका सदस्यहरूलाई कृषि तथा पशुपालन क्षेत्रको व्यवसायिकरणका लागि गरेको सहयोग महत्वपूर्ण रहेको बताए। उनले नेपालका साना किसानहरूलाई इजरायलका विभिन्न कलेजहरूमा पढ्दै कृषिको अभ्यास गर्दै गर्ने अवसर प्रदान गर्ने इजरायल सरकार र नेपालस्थित इजरायली राजदूतावासलाई धन्यावाद ज्ञापन गरे। मन्त्री सिंहले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन अनुरोध गर्दै यसका लागि नेपाल सरकारको तर्फबाट आफुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले नेपालको कृषि तथा पशुपालन क्षेत्रको रुपान्तरणका लागि इजरायली राजदूतावास र इजरायल सरकारलाई धन्यवाद दिए। अध्यक्ष पाठकले नेपालका साना किसानका लागि इजरायल पुगेर कृषि तथा पशुपालन क्षेत्रमा भएको प्रविधिको प्रयोगबारे प्रत्यक्ष संलग्न भई कार्य गर्न पाउनु ठूलो अवसर भएको बताए। उनले नेपालको कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्व बढाउन इजरायल पुगेर फर्केका साना किसान युवाहरूको भूमिकालाई नेपाल सरकारले उच्च महत्वका साथ मूल्यांकन गर्नुपर्ने आवश्यकता औल्याए। अध्यक्ष पाठकले आगमी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिन सके नेपालको कृषि र पुशजन्य आयत प्रतिस्थापनमा समेत सहयोग पुग्ने दावी गरे।
इजरायली राजदूत खनान गोदरले साना किसान विकास लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरी नेपालको गाउँ तहका साना किसानहरूलाई कृषि र पशुपालनमा व्यवसायिक बनाउने कार्यमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले विगत केही वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिन नसकेको भन्दै विगतमा आफूहरूले नेपालका साना किसानहरूलाई गरेको सहयोगलाई निरन्तरता दिने पक्षमा रहको बताए।
कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले कृषि र पशुपालनको क्षेत्रलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। उनले कृषि र पशुपालनको विकास गर्न सके मात्र किसानको वृद्धि विकास सम्भव रहेको बताए। सचिव शर्माले संघ, प्रदेश र स्थानीय सरकारले कृषि र पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिएर कार्यक्रम बनाएको भन्दै यसबाट वास्तविक लाभग्राहीले लाभ लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले कृषि र पशु पालन क्षेत्रमा युवा सहभागिता बढाउन लर्न एण्ड अर्न कार्यक्रमले सहयोग पुगेको जनाए। उनले साना किसान परिवारका सदस्यहरूले कुनै पनि कृषि तथा पुशुपालन व्यवसाय गर्न चाहेमा आफूहरूले पुँजी तथा प्रविधि दिन तयार रहेको बताए। उनले साना किसान परिवारका सदस्य इजरायल पुगेर प्रविधिको बारेमा जानकारीसहित बीउ पुँजी पनि लिन पाउने कार्यक्रमको निरन्तरताका लागि इजरायली राजदूतावासमार्फत इजरायल सरकारलाई अनुरोध गरे।
दूतावासका डिसिएम दाना फिसरले नेपालको कृषि र पशुपालन क्षेत्रमा युवा सहभागिता बढाउन कार्यक्रममार्फत आफूहरू पनि सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा सातै प्रदेशबाट छनौटमा परेका २१ जना प्रतिस्प्रर्धिको उत्पादनको स्टल प्रदर्शनीका लागि राखिएको थियो। प्रतिस्पर्धीको व्यवसाय, आम्दानी, व्यवसायमार्फत अन्य युवाहरूमा परेको प्रभाव, प्रयोग भएको प्रविधि लगायतका विषयलाई आधार मानेर विजेता घोषणा गरिएको थियो। उत्कृष्ट छनौट समितिमा इजरायली राजदूत खनान गोदर, डा. विष्णु चापागाई र घुरन ठाकुर सदस्य छन्।
0 comment