काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा विकृति नसुल्झिएको भन्दै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववीयूले त्रिवि उपकुलपतिको कार्यालयमा भोक हड्ताल सुरु गरेको छ ।
मंगलबारदेखि १३ बुँदे माग राखेर कीर्तिपुरस्थित त्रिवि उपकुलपतिको कार्यालयमा अनेरास्ववियूका केन्द्रीय नेताहरूले भोक हड्ताल सुरु गरेका हुन् । अनशन बस्नेहरूमा संगठनका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्तलगायतका नेता रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था बुझ्न बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी त्रिवी शिक्षण अस्पताल महाराजगंज पुगेका थिए ।
एमफिल र पीएचडीलाई नियमित बनाइनुपर्ने, स्ववियू निर्वाचनको मिति तत्काल घोषणा गरिनुपर्ने माग अघि सारिएको अनेरास्ववीयूका स्थायी कमिटी सदस्य टीकाराम भण्डारीले जानकारी दिए । यस्तै, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइनुपर्ने, प्रश्नपत्र निर्माणमा भइरहेको हेलचेक्रयाँइको दिर्घकालीन समाधान हुनुपर्ने अनेरास्ववीयूको माग छ ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, 'पछिल्लो पटक त्रिवि सेवा आयोगले लिएको परीक्षाको नतिजा शून्य आएको घटनाबाट विश्वविद्यालयको गरिमामाथि आँच पुगेको छ, यसको कारण पहिचान गरी परिणाममुखी प्रणाली स्थापना गरियोस् । त्रिभुवन विश्वविद्यालयका सवै सङ्कायहरूको पाठ्यक्रम समयअनुसार अद्यावधिक र परिमार्जन गरियोस । त्रिभुवन विश्वविद्यालयभित्र दुई खाले शिक्षा प्रणाली देखिएको छ । केही निजी कार्यक्रमहरु महङ्गो शूल्कमा चलिरहेका छन्, यसले त्रिविको शिक्षा प्रणालीमा विभाजन ल्याएको छ । यो असमान र विभेद प्रणालीको अन्त्य गरी त्रिवि अन्र्तगतका सम्पूर्ण कार्यक्रमहरू समान ढङ्गले सुलभ शुल्कमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस् ।’ त्रिविको परीक्षा प्रणालीमा सुधार गरि परीक्षा प्रणाली छिटो छरितो र विश्वसनीय हुनुपर्नेछ।'
‘परीक्षा नियन्त्रणको केन्द्रीकृत प्रणालीका कारण बल्खुमा विद्यार्थीको चाप अत्याधिक भयो तसर्थ बल्खुवाट वितरण गरिने ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल सर्टिफिकेट लगायत प्रमाणपत्रहरू प्रदेश परीक्षा नियन्त्रण कार्यालयमार्फत हरेक क्याम्पसमै उपलब्ध हुने व्यवस्था मिलाइयोस् । यी सबै प्रमाणपत्रहरूको फारम भर्न अनलाइन व्यवस्था गरियोस् । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र अन्य नियुक्तिमा हुने राजनीतिक भागवण्डाको अन्त्य गरी प्रतिस्पर्धाको आधारमा दक्ष र अनुभवी व्यक्तिहरू नियुक्त हुने स्थितिको सुनिश्चितता गरियोस,' विज्ञप्तिमा उल्लेख छ।'
0 comment