काठमाडौं - सुन्तलाले बजार नपाउँदा रामेछापका किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् ।
जिल्लाको मन्थली नगरपालिका- १४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताउनुभयो ।
आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको उहाँले बताउनुभयो ।
अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएकाले समस्या भएको बताउनुहुन्छ ।
मन्थली नगरपालिका- १४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन् । यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन् । यहाँ पुग्ने जो कोहीलाई पहेँलपुर सुन्तलाले लोभ्याउँछ ।
यसवर्ष यस वडाबाट करिब दुई करोडको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाले गुनासो गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजनाले यस पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनाशक औषधि र भिटामिन छर्न अनुदान सहयोग गरेको थियो ।
बजारीकरणका लागि भने स्थानीय तह र अन्य निकायबाट पनि सहयोग नपाइएको स्थानीय कृषकको गुनासो छ ।


0 comment