काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो तीन वर्षको कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

निर्देशक घिसिङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

उहाँले मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/७९ र आव २०७९/८० मा क्रमशः ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनको क्रममा रहेको पनि घिसिङले बताउनुभयो । 

तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा रहेको ८९.७ प्रतिशत विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले जानकारी दिनुभयो । 

यस्तै ८ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या अहिले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको बताउनुभयो । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी स्थानहरुमा पनि छिट्टै विद्युतीकरण गर्न लागिएको उहाँको भनाई छ ।
 
यसैगरी ८ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड युनिट पुगेको जानकारी दिनुभयो ।