काठमाडौै - बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमवार राजधानी ढाकाको उत्तरा क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेका छन्। उनीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै नाराबाजी गरेका छन्।

बीबीसी बाङ्ग्लाका अनुसार ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको छ। बाङ्ग्लाभाषाको पत्रिका प्रोथोम आलोुको अनलाइन संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले साउन ग्रिनेड र अश्रुग्यास प्रहार गरेको छ।

जुलुस हिंसक बन्न सक्ने आशङ्का गर्दै सरकारले ढाकामा सुरक्षाव्यवस्था कडा पारेको छ। ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर विभिन्न सडकमा आवतजावत रोकेको छ। अधिकांश सडकहरू खाली देखिन्छन्।

प्रदर्शनकारी र प्रहरीबीच आइतवार ठाउँठाउँमा भिडन्त भएको थियो। अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था देखिन्छ।

नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकाल्ने तयारीमा थिए। त्यसलाई ढाकासम्मको लामो मार्चू भनिएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका छन्। सबै कुरा बन्द छ। असहयोग आन्दोलन चलेको छ। विद्यालय, कार्यालय र अदालतहरू बन्द छन् ।

सिराजगन्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। 
आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन। स्थिति नियन्त्रणमा लिन सरकारले आइतवार साँझ ६ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यू घोषणा गरेको थियो।

गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको छ। त्यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राति ९ बजेसम्म खुकुलो बनाइएको थियो। तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुनः कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्। प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानमा अश्रुग्यास र रबरको गोली चलाएको छ।

सोमवार बाङ्ग्लादेशभरि इन्टरनेट पूरै बन्द गर्ने आदेश अधिकारीहरूले दिएको विवरण आएको थियो। प्रदर्शनकारीहरूबीच सञ्चार र समन्वय गर्न असहज होस् भनेर त्यसो गरिएको ठानिएको छ। तर दिउँसो इन्टरनेट फेरि चल्न थाल्यो। बाङ्ग्लादेशको कुल जनसङ्ख्या १७ करोडमध्ये अधिकांश मानिसले इन्टरनेट चलाउँछन्।

राजधानी ढाकामा आइतवार मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको थियो। बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको बीबीसी बङ्ग्लासँग बताए थिए। फेसबुक र ह्वाट्स्यापजस्ता सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको विवरण सार्वजनिक भएको थियो।

सोमवार बिहान बाङ्ग्लादेशमा धेरै पढिने ‘द ढाका ट्रिब्यून’ र ‘बाङ्ग्ला ट्रिब्यून’ का वेबसाइटहरू बन्द भएका थिए। अर्को लोकप्रिय समाचार वेबसाइट ‘डेली स्टार बाङ्ग्ला’ पनि खुलेको थिएन। तर दिउँसोदेखि ती वेबसाइट फेरि खुले। 

आइतवारको प्रदर्शनका क्रममा झन्डै २०० जना घाइते भएको विवरण आएका छन्। राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएका थिए। सहरका अन्य भागमा पनि हिंसात्मक घटनाहरू भएको विवरण आएका छन्। 

सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्। केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन्।

बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ। उक्त सङ्ख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट सङ्कलित विवरणका आधारित छ। एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो।

प्रधानमन्त्रीले के भनिन्

प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले प्रदर्शनकारी विद्यार्थीहरूलाई “आतङ्कवादी”को सङ्ज्ञा दिएकी छन्। उनले आफ्नो इलाकामा प्रदर्शन हुन नदिन देशवासीहरूलाई आह्वान गरेको बीबीसी बाङ्ग्लाले जनाएको छ। विद्यार्थीहरूको प्रदर्शन नियन्त्रण गर्ने उद्देश्यले विगत केही सातामा झन्डै विपक्षी दलका १०,००० समर्थक र विद्यार्थीहरूलाई पक्राउ गरिएको थियो। 

आइतवारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान गरेका थिए। प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले पनि आइतवार नै देशैभरि र्‍यालीको आयोजना गरेको थियो। दुवै पक्षको प्रदर्शनका कारण बाङ्ग्लादेशमा आगामी केही दिनहरू तनावपूर्ण रहने ठानिएको छ।

शेख हसिना को हुन् ?

विपक्षी दलहरूको बहिष्कारकाबीच गत ज्यानुअरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। तर प्रदर्शनकारीहरूले उनको सत्तालाई चुनौती दिइरहेका छन्। विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँकिरहेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्।

शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी छन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्। यो उनका लागि पाँचौँ कार्यकाल हो। कार्यकाल सकिँदा उनी ८१ वर्षकी हुने छिन्।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो। शेख हसिनाका समर्थकहरू उनले बाङ्ग्लादेशमा चाहिएको राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन्।