दिपा थपलिया,

कास्कीमा अहिलेसम्मकै ठूलो परिणाममा लागुऔषध बरामद भएको कास्की प्रहरीले जनाएको छ । हाल प्रचलित बजार झण्डै ५० लाख रहेको ८ प्रकारका लागुऔषध साथ पोखराको न्यूरोडस्थित होटल दीपदर्शनबाट दुइजनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा होटल संचालक ३७ वर्षीया इन्दुदेवी श्रेष्ठ र म्यानेजर २५ वर्षीय मिलन पौडेल पक्राउ परेका छन् । श्रेष्ठ तनहुँको शुक्लागण्डकी ८ की हुन् भने पौडेल स्याङ्जा आँधीखोला गाउँपालिकाका हुन् । पोखराको न्यूरोडस्थित होटल दीपदर्शनमा लुकाइछिपाइ राखेको अवस्थामा १६ साउनमा बरामद गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनु भयो ।

उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । होटलमा अवैधरुपमा लागु औषध कारोबार भएको गोप्य सूचना आधारमा जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो होटलबाट लागुऔषध कुल ४३ हजार २ सय ट्याबलेट र २ थान मोबाइल बरामद गरेको हो ।

उक्त होटलको भवनमा केही समयदेखि एक मेडिकल संचालित थियो । यसअघि पोखरा १७, बिरौटामा रहेको उक्त मेडिकल दर्ता नगरी संचालन भएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले जानकारी दिनु भयो । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।