काठमाडौं –  पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चालकसहित २८ जना घाइते भएका छन्।  मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान ८ः५५ बजेतिर पोखरा महानगरपालिका–२१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।