काठमाडौं – केन्द्रको सत्ता समिकरण पछी प्रदेश सरकारको मन्त्री बन्ने नेताहरुको दौडधुप चलिरहेको छ । यस्तैमा कर्णाली प्रदेशमा सरकारले पुर्णताको कुनै टुंगो छैन । कांग्रेसको गठबन्धनबाट पहिलोपटक बन्न लागेको कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन ।एमाले माओवादीको सरकार रहेको कर्णालीमा केन्द्रको सत्ता समिकरण पछी नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएसँगै सरकार पुनर्गठनमा अनिश्चित देखिएको छ । माओवादीले सरकार छोडेपछी एमाले कांग्रेसको सरकार पुनर्गठन गर्ने तयारीमा रहेका मुख्यमन्त्री यामलाल कँडेल कांग्रेसको निर्णयलाई पर्खिरहेका छन् ।यता नेपाली कांग्रेसले भने आफ्ना मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन ।
कांग्रेसको निश्चित निर्णय नहुँदा कर्णालीमा सरकार गठन अनिश्चित देखिएको छ । केन्द्रको सत्ता समिकरण पछी मुख्यमन्त्रीमा एमालेकै निरन्तर रहेर कांग्रेससहितको नयाँ सरकार बन्ने बताइएको छ । कांग्रेसको अलमलले गर्दा कर्णालीका मन्त्रालयहरु मन्त्री बिहिन बनेका छन् । यस अघि पनि माओवादीसँगको सत्ता साझेदारीमा भागबन्डा नमिल्दा लामो समयसम्म सरकार गठन अल्झिएको थियो ।
आफु एक्लैले सपथ लिएका मुख्यमन्त्री कँडेलाई फेरी त्यही तगारो दोहोरिएको छ । यता मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय आफैले सम्मालेका छन् । भने उता कांग्रेसको निर्णयलाई पर्खिरहेका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी लिएका छन्।
पत्रकारसंगको छलफलमा मुख्यमन्त्री कँडेलले भने, ‘कांग्रेसलाई मन्त्रीहरु टुंंगोे लगाउन भनिएको छ । कांग्रेसको आन्तरिक छलफल चलिरहेकाले सरकार गठनमा केही समय लाग्छ ।’ कांग्रेसको निर्णय कुरिरहेका कँडेलले आफूले चाँडै सरकार गठनलाई पुर्णता दिन कांग्रेसलाई आग्रह गरेको बताए ।
कांग्रेसका प्रदेश सदस्यहरु काठमाडौंमा मन्त्री पद माग्न गएपछी यता प्रदेशसभाको बैठक समेत बस्न सकेको छैन । केन्द्रको भरमा मन्त्री बन्नलाई कांग्रेसका अधिकांश नेताहरु काठमाडौं गएको बताइन्छ । सरकार गठनका विषयमा कर्णालीमा दुई दलबीच छलफल नै सुरु हुन सकेको छैन । केही दिन पहिले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मन्त्रालय विभागीय मन्त्रीविहीन अवस्थामा रहेका छन् । सरकारले पूर्णता पाउन नसक्दा दैनिक मन्त्रालयमा हुने दैनिक कामकाज समेत ठप्प बनेका छन् ।
मन्त्री पदका लागि दौडधूप मै अल्झिएको कांग्रेस उसो त कर्णाली प्रदेशमा संसदीय दलको नेता बिहिन बनेको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि शाही निलम्बनमा परेका छन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका १४ सांसद र सभामुखसहित एमालेका १० सांसद छन् । सरकार गठनका लागि २१ सांसद आवश्यक पर्ने कर्णालीमा कांग्रेस र एमालेको गठबन्धनबाट प्रष्ट बहुमत पुग्छ । एमालेका कँडेल गत चैत २७ गते माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।


0 comment