काठमाडौं - आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
गत बिहिबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ।
'उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौं उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको। उहाँले यस फोरममा रही पुर्याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्,' विज्ञप्तिमा भनिएको छ।
नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।


0 comment